काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले लाठी चार्ज गर्ने वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलका अनुसार गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहमाथी प्रहरीले लाठी चार्ज गरेको थियो ।
अस्पताल परिसरभित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको थियो । चिकित्सक सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीद्वारा साङ्घातिक आक्रमण भएको थियो ।











