चितवन । आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा भजन प्रतियोगिता पनि हुने भएको छ । यहि जेठ १६ गतेदेखि ३० गतेसम्म भजन प्रतियोगिता गर्ने निर्णय भएको महायज्ञका संयोजक एवम् मुख्यकर्ता प्रेमनीधि भारद्धाजले जानकारी दिए ।
त्यस्तै, नौ वर्ष मुनिका एक हजार आठ बालिकाको सामुहिक पुजन आगामी असार ६ गते र पाँचसरे सवा करोड दीप प्रज्वलन असार ८ गते गर्ने तय भएको छ ।
वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा फेरि लगाउने र प्रवचनकला प्रतियोगिता पनि गरिँदै छ । महायज्ञ सुरु भएको एक महिना पुग्नै लाग्दा महायज्ञ दर्शन गर्ने भक्तजनको सहभागीता बढ्दै गएको छ ।
महायज्ञलाई सफल बनाउन मंगलबार पोखरा लेकसाइडका प्रेमबहादुर पुनले ५६ हजार, बेलबहादुर पुनले २७ हजार र अमेरिका बस्दै आएका मनकृष्ण अधिकारीले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
राष्ट्रगुरु योगी नरहरिनाथको संकल्प अनुसार भइरहेको महायज्ञले विश्व शान्ति र नाथ परम्पराको संरक्षण हुने योगी व्याघ्रबेदनाथले बताए । ‘विश्वमा शान्ति होस्, राष्ट्रमा शान्ति होस् । हरेकको मनमा सतविचार आओस् भन्नका लागि नै महायज्ञ भएको हो’, उनले भने ।
महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथावाचन गरिरहेका छन् । महायज्ञमा विजमन्त्रद्धारा नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ । वागिश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।
महायज्ञमा पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन पनि हुनेछ ।











