चितवन । फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघ चितवनको अध्यक्षमा केशवराज पौडेल निर्वाचित हुनुभएको छ । संघको ११ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा हरिकुमार राजभण्डारी, प्रथम उपाध्यक्षमा रमेश बुर्लाकोटी, द्वितीय उपाध्यक्षमा दीपक सुनार तथा तृतीय उपाध्यक्षमा पवनकुमार राना चयन हुनुभएको छ ।
त्यसैगरी महासचिवमा चन्दना कोइराला, सचिवमा एकराज गायक, कोषाध्यक्षमा राम नेपाली, सह–कोषाध्यक्षमा घनश्याम राठी तथा प्रवक्तामा पार्वती कुँवर निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा योगेश पौडेल, पदम न्यौपाने, दानबहादुर गुरुङ, मोहन दनै, सद्दाम अन्सारी, सुवासचन्द्र आचार्य, सूर्यबहादुर बिक, बासुदेव अधिकारी, भवानी सुवेदी, दिलिप भगत र अशोक ज्ञवाली चयन हुनुभएको संघले जनाएको छ ।
कमलनगरस्थित पर्व ब्याङ्केटमा आज बिहान आयोजित अधिवेशनमा व्यवसायी, उद्योगी तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा फर्निचर तथा फर्निसिङ व्यवसायको वर्तमान अवस्था, व्यवसायीले भोगिरहेका चुनौती, बजार विस्तारका सम्भावना तथा आगामी कार्ययोजनाबारे समेत व्यापक छलफल गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष पौडेलले व्यवसायीको हकहित संरक्षण, व्यवसायको आधुनिकीकरण र संघलाई थप सक्रिय एवं प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चितवनको फर्निचर तथा फर्निसिङ क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने दिशामा नयाँ कार्यसमितिले विशेष पहल गर्ने बताउनुभयो ।











