काठमाडौं । विशेष अदालतमा विचाराधीन घुस मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएर अदालतमा प्रतिकूल बयान (होस्टाइल) दिने तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।
नेपाल सरकार वादी र ढुण्डिराज दाहाल प्रतिवादी रहेको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षी रहेका प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
यसअघि अनुसन्धानका क्रममा ती व्यक्तिहरूले अनुसन्धान अधिकृतलाई सहयोग गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो। तर, विशेष अदालतमा २०८३ वैशाख २५ गते बकपत्र गर्ने क्रममा उनीहरूले आयोगसमक्ष दिएको बयानविपरीत बयान दिएको पुष्टि भएपछि आयोगले उनीहरूमाथि पुनः अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानअनुसार भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने उद्देश्यले विप्लव पोख्रेलले आरएसभी मेटल र अभियान्ता नेपालको तर्फबाट गरी जम्मा ५६ हजार ३५० रुपैयाँ घुस दिएका थिए। त्यस्तै प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिज लगायतको तर्फबाट ३७ हजार ५०० रुपैयाँ तथा राजेश श्रेष्ठले विप्लव पोख्रेलमार्फत २७ हजार ३५० रुपैयाँ गरी कुल ९३ हजार ८५० रुपैयाँ प्रतिवादी ढुण्डिराज दाहाललाई घुस दिएको पुष्टि भएको थियो।
सुरुमा घुस दिएको कार्य पुष्टि भए पनि साक्षी बस्ने सर्तमा छुट पाएका उनीहरूले अदालतमा बयान फेरेपछि आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो। उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ अनुसारको कसुर भएको ठहर गर्दै अख्तियारले कानुनबमोजिम सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको जनाएको छ।












