चितवन । चितवनको भरतपुर महानगरपालिका–९, शरदपुर दुर्गाटोलस्थित तिल प्रसाद अधिकारीको घर अगाडि पार्किङ गरी राखिएका पाँच वटा सवारी साधनहरूमा आगो लगाई फरार भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मकवानपुर चित्लाङ गाउँपालिका–९ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२, पुलचोक बस्ने ३२ वर्षीय सन्तोष विश्वकर्मा रहेका छन् ।
हिजो (आइतबार) बिहान अन्दाजी ४ः४५ बजेको समयमा कार, स्कुटरहरू र परालमा समेत आगो लगाई फरार रहेका उनको खोजी गर्ने क्रममा हिजो दिउँसो १ बजे भरतपुर–१०, हाकिम चोकबाट उनलाई पक्राउ गरिएको हो ।
उनले बा १२ च ७२७८ नम्बरको कार, ना ३७ प ३९०६ नम्बरको स्कुटर, बा.प्र.०६-००७ प ४५९७ नम्बरकाे स्कुटर, बागमती प्रदेश ०६-००३ प ०३३८ नम्बरको इभि स्कुटर, ना २८ प ८४५४ नम्बरकाे होण्डा स्कुटरमा आगजनी गरेका थिए ।
उनलाई ‘अपराधिक उपद्रव’ कसूरमा थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपक प्रसाद रिजालले जानकारी दिए ।













