चितवन । आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा भक्तजनको संख्या बढ्दै गएको छ ।
महायज्ञ सुरु भएको महिनादिन पुग्नै लाग्दा महायज्ञको दर्शन गर्न पुग्ने भक्तजनको सहभागीता बढेको हो । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पअनुसार गत वैशाख १७ गतेदेखि महायज्ञ सुरु भएको हो ।
भक्तजनको सहभागीता बढ्दै जाँदा पण्डाल भरिन थालेको महायज्ञका संयोजक एवम् मुलकर्ता प्रेमनीधि भारद्धाजले जानकारी दिए । महायज्ञ दर्शन गर्न माडी, दमौली, लोथर, इच्छाकामना लगायत टाढा–टाढाबाट भक्तजनहरु आइरहेको उनले बताए । भक्तजनहरु गाडी नै रिजर्भ गरेर पनि आइरहेका छन् । महायज्ञ आउँदा घिउ लगायतका चरु तथा हवन सामाग्री लिएर आउन भक्तजनलाई आग्रह गरिएको छ । महायज्ञको लागि जौको अभाव रहेको उनले बताए ।
भारद्धाजका अनुसार गोरखनाथ भगवानको कृपाले दैनिकजसो वर्षा भइरहेको र चितवनको तापक्रम नियन्त्रण गर्न सघाउ पुगेको छ । यसलाई कोटिहोमको प्रभावका रुपमा हेर्नुपर्ने उनी बताउँछन् । ‘हामीलाई भगवान गोरखनाथको कृपा भएको महसुस भइरहेको छ’, उनले भने । महायज्ञमा हरेक दिन भजन किर्तन हुँदै आएको छ ।
जारी श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञलाई सफल बनाउन नेपालबाट मात्र नभई विदेशमा बस्ने नेपालीहरुले समेत आर्थिक सहयोग गरेका छन् । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथा वाचन गरिरहेका छन् ।
महायज्ञमा नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।
महायज्ञमा नौ वर्षमुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पूजा गरिने छ । पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन हुनेछ भने पाँचसरे सवा करोड दीप प्रज्वलन गरिने छ ।













