काठमाडौं । नेकपा एमालेका सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको राजीनामा मागिएको छ। पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि स्थिति तनावपूर्ण भएको थियो।
बैठकमा पार्टीका ५ जना उपाध्यक्षहरूले बोलेका थिए। रामबहादुर थापा बादलबाहेक चारैजना उपाध्यक्षले अध्यक्ष ओलीलाई पद छाडेर सहज बनाइदिन अनुरोध गरेका थिए।
उनीहरूले निर्वाचनमा पराजय भोग्नुपरेको भन्दै पार्टीको पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए।
उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण बिष्ट‚ पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन्।
एमालेलाई कमजोर अवस्थामा पुर्याएको जिम्मेवारी लिँदै ओलीले पद छाड्नुपर्ने उनीहरूको माग थियो। बादल भने पार्टीमा ओलीको आवश्यकता रहेको भन्दै प्रतिरक्षामा उभिए।
बादलको साथ पाएका ओलीले उपाध्यक्षहरूलाई विरोधीहरूसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको आरोप लगाए।












