काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३७ थान नेपाली राहदानी (पासपोर्ट) सहित एक जनालाई नियन्त्रणमा लिएको छ। विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंगलबार नेपाल एयरलाइन्सको उडानमार्फत भारतको नयाँ दिल्ली जान लागेका सिरहा, धनगढीमाई नगरपालिका–१३ का ३८ वर्षीय अजित श्रेष्ठ पक्राउ परेका हुन्।
नियमित जाँचका क्रममा श्रेष्ठको साथबाट कुनै पनि आधिकारिक अनुमति वा आवश्यक कागजात बिनाका ३७ थान राहदानी फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले ती राहदानीहरू रोमानियाको भिसा लगाउने उद्देश्यले दिल्ली लैजान लागेको खुलेको छ।
बरामद गरिएका राहदानीसहित नियन्त्रणमा लिइएका श्रेष्ठलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।












