काठमाडौं स् सरकारले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि थाल्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीले छलफलपछि असार १ गतेदेखि पठनपाठन थाल्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरू हुने भएकाले त्यसअघि नै कक्षा ११ को भर्ना प्रक्रिया सुरू हुने छ। ‘अब विद्यालयले कक्षा ११ को भर्ना खुलाउने छन् र असार १ गतेदेखि भने पठनपाठन नै सञ्चालन गर्ने निर्णय भइसकेको छ, यसबारे मन्त्रालयले सम्बन्धित निकायमा परिपत्र जारी गर्दैछ,’ उनले भने।
यसपटक राष्ट्रिय परीक्षा बोर्डले एकमहिना अर्थात वैशाखभित्रै २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेपछि कक्षा ११ को पठनपाठन चाँडै थाल्ने सरकारले निर्णय गरेको हो।












