भरतपुर । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा भरतपुर–१ स्थित वागीश्वरीमा भोलिदेखि हुन लागेको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा कलशयात्रा गरिएको छ । गण्डकी नारायणी महाआरती स्थलबाट वागीश्वरी मन्दिरसम्म आज बिहान कलशयात्रा गरिएको हो । कलशयात्रा सुरु गर्नुअघि गंगा पुजन गरिएको थियो ।
आज गंगा अवतरण भएको दिन पनि हो । कलशयात्रामा महायज्ञ संयोजक प्रेमनिधी भारद्धाज, प्रमुख संरक्षक योगी श्रीषनाथ, संरक्षक योगी बलभद्रनाथ लगायत सहभागी थिए । कलशयात्राले वागीश्वरी मन्दिर र गौशालाको परिक्रमा गरेको थियो । भोलि वैशाख १८ गते गोरखनाथ जयन्ती तथा बुद्ध जयन्तीको दिनबाट महायज्ञ औपचारीक रुपमा यज्ञ सञ्चालन हुँदै छ ।
वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ हुन लागेको हो । महायज्ञका संयोजक प्रेमनीधि भारद्धाजले योगी नरहरिनाथले २३ वर्षअगाडि गरेको संकल्प अनुसार महायज्ञ हुन लागेको बताए । योगी नरहरिनाथले आफ्नो जीवनकालमा १२९ वटा महायज्ञ सम्पन्न गरेका थिए । १३०औँ महायज्ञ गर्ने उनको संकल्प थियो तर त्यो पुरा हुन पाएको थिएन ।
यो यज्ञ पूर्णरुपमा वैदिक यज्ञ रहेको बताउँदै उनले धन संग्रह गर्ने लक्ष्य नरहेको स्पष्ट पारे । योगी नरहरिनाथले गरेको संकल्प पुरा गर्नु आफुहरुको अन्तिम लक्ष्य रहेको उनले बताए । आवश्यकता अनुसार हवन सामाग्री उपलब्ध गराएर सहयोग गर्न भने उनले अनुरोध गरे । उनका अनुसार महायज्ञमा नौ वर्ष मुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पुजन गरिनेछ ।
आश्रमका प्रधान संरक्षक एवम् योगी नरहरिनाथका उत्तराधिकारी योगी श्रीषनाथले राष्ट्रकल्याण र राष्ट्र शान्तिका लागि कोटिहोम महायज्ञ गर्न लागिएको बताए । ‘गोरखनाथको महामन्त्रद्धारा गरिने यो कोटिहोमले देशमा उश्रृङ्खल गतिविधि रोक्न मद्धत गर्नेछ’, उनले भने ।
५९ दिनसम्म चल्ने महायज्ञमा ब्राह्मणहरुबाट निरन्तर हवन, तर्पण र मार्जन लगायतका अनुष्ठान, अतिरुद्री, सहस्रचण्डी, ब्रह्म गायत्री मन्त्रद्धारा लक्षहवन, श्रीशिवमहापुराण, श्रीमद्भागवत महापुराण लगायतका महापुराणहरु हुनेछन् । त्यस्तै, पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौ कथा प्रवचन हुनेछ भने पाँच सरे सवा करोड दीप प्रज्वलन गरिने उनले बताए ।









