माडी । माडी कला केन्द्रद्वारा आयोजित तेस्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव-२०८३ को आज भव्य रूपमा समुद्घाटन भएको छ ।
माडीको स्थानीय पर्यटन, कृषि, कला र खेलकुद प्रवर्द्धनका साथै वसन्तपुर खेलमैदानमा नाला निर्माण सहयोगार्थ सञ्चालित उत्सवको समुद्घाटनमा बसन्तपुर बजारदेखि उत्सव स्थल (खुला चाैर)सम्म सांस्कृतिक झाँकि सहितको शोभा यात्रा गरिएको थियो । कार्यक्रममा माडीका टोल विकास संस्था, आमा समूह, क्लब, स्काउट ग्रुप र थारू, नेवार लगायत जातिय पहिचान झल्किने पहिरन सहित हजारौंको सहभागीता रहेको थियो ।
समुद्घाटन कार्यक्रममा माडी नगरपालिकाको नगर प्रमुख तारा कुमारी काजि महतोको प्रमुख आतिथ्य रहेको थियो, भने माडी कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेको अध्यक्षता रहेको थियो ।
आगामी बैशाख १५ गतेसम्म सञ्चालन हुने उत्सवमा टिकट शुल्क रू १०० रहेको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
तेस्रो संस्करणको यस उत्सवमा आयोजकले करिब ५० लाख रुपैयाँ खर्च हुने र ६० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । उत्सवमा करिब ४० वटा स्टल रहेका छन् ।आयोजकका अनुसार गत वर्ष उत्सवबाट संकलित रकमले बसन्तपुरको चौर स्तरोन्नति तथा विस्तारमा खर्च गरिएको थियो भने यस वर्षको आम्दानीबाट चौर साइडमा नाला निर्माण गरिनेछ ।
उत्सवको सह-आयोजक थारू कल्याणकारिणी सभा माडी रहेको छ भने मुख्य प्रवर्द्धक माडी नगरपालिका रहेको छ । त्यस्तै, उत्सवको व्यवस्थापन द लिड इन्टरटेनमेन्ट एण्ड एडभरटाइजिङ्ग विरगञ्जले गरेको छ ।











