काठमाडौँ । विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसद्मा दिएको अभिव्यक्तिलाई लिएर आज संसद् अवरोध गर्ने निर्णय गरेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेससहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो । श्रम संस्कृति पार्टी भने बैठकमा सहभागी नभएको बताइएको छ ।
कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले प्रस्टीकरण दिनुपर्ने र संसद्समक्ष माफी माग्नुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । उनले प्रधानमन्त्रीले जवाफ नदिउन्जेलसम्म संसद्मा अवरोध जारी रहने बताएका छन् ।
विपक्षी दलहरुले संसदको रेकर्डबाट प्रधानमन्त्रीको अभिव्यक्ति नहटाएसम्म संसद चल्न नदिने निर्णय समेत गरेका छन् ।
विपक्षी दलहरुको अडानका कारण आज १ बजेदेखि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक शुरु हुन सकेको छैन । आजको बैठकमा बजेटमाथि छलफल शुरु हुने कार्यसूची रहेको छ ।












