भरतपुर । दूध, अण्डा र मासुको उत्पादन वृद्धि गर्न पशु स्वास्थ्यकर्मीको विशेष भूमिका रहने सरोकारवालाहरूले बताएका छन् ।
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसियसन (नेभ्ला) चितवनले आइतबार आयोजना गरेको नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रमका वक्ताहरूले किसान बाँचे मात्रै पशु स्वास्थ्यकर्मी बाँच्न सक्ने बताएका हुन् ।
नेभ्लाका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले पशु स्वास्थ्यकर्मीहरूले प्रविधिको प्रयोग बढाउनुपर्ने भन्दै प्रविधिमा आफूलाई अपडेट गर्न आग्रह गरे । ‘किसान र हामी प्राविधिबीच नङ र मासुको सम्बन्ध स्थापित गर्नुपर्छ । प्राविधिकहरूलाई अभिमुखीकरण गराउनुपर्छ’, उनले भने । स्थानीय सरकारले किसानहरूलाई पनि अभिमुखिकरण गराउन आवश्यक रहेको उनले बताए ।
नेभ्ला चितवनका अध्यक्ष प्रकाश ढकालले किसान र पशु स्वास्थ्यकर्मी दुवै पक्ष प्रविधिमा अपडेट हुन आवश्यक रहेको बताए । ‘हाम्रा प्राविधिकहरूलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन आवश्यक छ । नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने बारेमा सिकाउन जरुरी छ’, उनले भने । पशुहरूमा विभिन्न प्रकारका संक्रामक रोगहरू लाग्ने र त्यसले ठूलो महामारी लिने गरेको बताउँदै उनले आफ्ना पशुचौपायालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा किसानलाई पनि सचेतना प्रदान गर्नुपर्ने बताए ।
‘दूध, मासु र अण्डा उत्पादनमा योगदान पु¥याउने हामी पशु स्वास्थ्यकर्मी पनि हौँ । पशु स्वास्थ्य, पशु प्रजनन् होस् वा आहारको कुरा होस् । हामीहरू अझ किसानमैत्री र सेवामुखी हुन जरुरी छ’, उनले भने । भरतपुर महानगरपालिकाको पशु शाखा प्रमुख शैलेन्द्र भण्डारीले किसान बाँचे मात्रै पशु स्वास्थ्यकर्मीको पेश बाँच्ने बताए । पशु स्वास्थ्यकर्मीले किसान बचाउने कामलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
पशु स्वास्थ्यकर्मीहरू स्थानीय तहमा सूचीकृत हुने व्यवस्था छ । चितवनमा करिब चार सय जना पशु स्वास्थ्यकर्मी रहेका छन् भने नेभ्लामा करिब २०० जना आबद्ध छन् ।











