बैतडी। बैतडीमा उन्नत जातका गाई भित्र्याएर दूधको आपूर्ति गर्न डेरी पसल सञ्चालन गर्दा शेरबहादुर कुँवरले समेत पहिलो पटक जातीय विभेदको पीडा खेप्नु परेको छ ।
आजको गोरखापत्र दैनिकमा गोकर्ण दयालले समाचार लेखेका छन्, डेरी पसलमा दलित समुदायको दूध किन्न सुरु गरेपछि उनले जातीय विभेदको पीडा मात्रै खेप्नु परेन, उनको डेरी पसल नै बन्द भएको छ ।
दशरथ चन्द नगरपालिका–५, नौहाटका शेरबहादुर कुँवरले २६ वर्षदेखि उन्नत जातको गाई पाल्दै आएका छन् । जिल्ला सदरमुकामका होटेलमा दुधको आपूर्ति गर्न उनले २०५६ सालमा भारतको पिथौरागढबाट उन्नत जातको गाई भित्र्याएको बताए । सदरमुकाममा मात्रै अहिले चार सयभन्दा बढी उन्नत जातका गाई रहेको नगरपालिकाको तथ्याङ्क छ ।
उनले भने, “मेरो ससुराली भारतको पिथौरागढ हो । त्यहाँ उन्नत जातको गाई पालन गरेको देखेपछि २०५६ सालमा सात दिन हिँडेर उन्नत जातको गाई बैतडी ल्याइपु¥याएँ । दलित, गैरदलित सबै किसानलाई आबद्ध गरेर कामधेनु दुग्ध सहकारी खोलेँ । दलित समुदायको दुध किन्न सुरु मात्र के गरेको थिएँ, शेरबहादुरले त दलितको दुध किन्न थाल्यो भन्दै हल्ला फैलियो । त्योबेला दलितलाई होटेलमा प्रवेश गर्न समेत दिइँदैनथ्यो । दुध किन्ने ग्राहक भड्किएपछि डेरी पसल बन्द भयो । दुध खेर जाने अवस्था आयो ।” कुँवरको डेरी पसल बन्द भएयता अहिले पनि दलित समुदायको दुध बिक्री हुँदैन ।
बाँकी समाचार गोरखापत्र दैनिकमा












