भरतपुर । चितवनका युवा व्यवसायी तथा समाजसेवी लोकनाथ भट्ट (कृष्ण)लाई जिनियस एचिभमेन्ट अवार्ड–२०२५ प्रदान गरिएको छ ।
बुधबार काठमाडौँमा आयोजिक एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले भट्टलाई उक्त अवार्ड प्रदान गरेका हुन् । जिनियस डिजिटल म्युजिकले आयोजना गरेको एक कार्यक्रममा भट्ट सम्मानित भएका हुन् ।
व्यवसाय एवम् समाजसेवाका माध्यमबाट समाज रुपान्तरणमा पु¥याएको योगदानको उच्च कदर, अभिनन्दन र सम्मान गर्दै जिनियस एचिभमेन्ट अवार्ड प्रदान गरिएको जिनियस डिजिटल म्युजिकका अध्यक्ष रमेश पाठकले बताए ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष भट्ट समाजसेवामा समेत सक्रिय छन् । ‘अर्थतन्त्रको मेरुदण्ड बलियो बनाउँदै मानवीय सेवामा पु¥याउनुभएको अमूल्य योगदान सराहनिय मात्र होइन, युगौँयुगसम्म स्तुत्य र वन्दनीय छ’, सम्मान पत्रमा भनिएको छ ।
‘मानवीय सेवाको जगेर्ना, अभियन्ताको सम्मान, समाज रुपान्तरणमा पृथक अभियान’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै भट्टलाई उक्त अवार्ड प्रदान गरिएको पाठकले बताए । जिनियस डिजिटल म्युजिक संस्था विगत लामो समयदेखि नेपाली भाषा, साहित्य, संस्कृति र सामाजिक उत्थानको पवित्र अभियानमा निरन्तर र अविचलित रुपमा क्रियाशिल रहेको छ ।
जिनियस एचिभमेन्ट अवार्ड प्राप्त गरेका भट्ट लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिष्ट ३२५ आर क्लष्टनर नं ३ को कोषाध्यक्ष एवम् रिजनल चेयरपर्सन समेत हुन् । लायन्स क्लब इन्टरनेशनल मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था हो । यस क्बले खान बस्न नपाएका एवम् आर्थिकस्तर नाजुक भएका नागरिकलाई सहयोग गर्दै आएको छ । यसबाहेक विपद्का बेला पनि क्लबले विभिन्न संघसंस्थासँग हातेमालो गर्ने गरेको छ ।
भट्टले सञ्चालन गरेको होटल जमघट ‘तासको राजा’को रुपमा परिचित छ । कुनै बेला होटल क्षेत्रमा जागिर गरेका उनले २०६२ साल चैत ७ गते नारायणगढको शहिदचोकमा होटल जमघट स्थापना गरेका थिए । होटल जमघटको पहिलो शाखा भरतपुर महानगरपालिका वडा नं १२ स्थित जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ ।












