चितवन । चितवनको इतिहास समेटिएको पत्रकार वसन्त पराजुलीको उपन्यास बखानमाथि विमर्श गरिएको छ ।
चितौन कचहरी र डबली बुक क्याफेको संयुक्त आयोजनामा भएको विमर्श कार्यक्रममा बोल्ने बक्ताहरुले उपन्यासले चितवननको इतिहास उधिन्न सफल भएको धारणा राखे ।
इतिहासविद् प्राडा ईश्वरीराज लौडारीले प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीलाई आधार बनाएर चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुलाई उपन्यासमा सशक्त रुपमा उठान गरिएको बताए ।
“बखानभित्र धेरै कुरा छ । चितवनको बस्ती विकासदेखि सामाजिक अवस्था चित्रण भएको छ यो युगयुग सम्म जीवन्त रहनेछ”, उनले भने । २०४६ साल अघिसम्म जनताको इतिहास लेख्ने चलन नभएका कारण ऐतिहासिक पात्रहरुको समेत इतिहास बन्न नसकेका बेला बखानले लुकेर बसेका बखानसिंह गुरुङको जीवनीलाई उपन्यासकै माध्यमबाट भए पनि उजागर गरिएको उनले बताए ।
कार्यक्रममा बोल्दै बखानसिंह गुरुङका नाति एवम् सहिद लालध्वज गुरुङका छोरा चन्द्रध्वज गुरुङले बखान उपन्यास भएकाले अटोग्राफका रुपमा चित्रण गर्न नहुने तर्क गरे ।
“बखान उपन्यासले मेरा हजुरबा (बखानसिह) र मेरा परिवारका कथा नजिकबाट छोएको छ । अटोग्राफमा जस्तै सबै जीवनी उपन्यासमा आओस् भन्ने अपेक्षा पनि राख्नुहुँदैन”, उनले थपे, “बखान उपन्यास सार्वजनिक भएसँगै बखानसिंह गुरुङका बारेमा राष्ट्रिय रुपमा बहस हुनु उपन्यासको बलियोे पक्ष हो ।” देश र जनताका लागि आफ्ना अग्रजहरुले बलिदानी दिए पनि आफूहरु अहिलेसम्म अन्यायमा परेको उनले गुनासो गरे ।
“मेरा बा (लालध्वज) २०१८ सालको आन्दोलनमा र काका (धर्मध्वज)ले २००७ सालको क्रान्तिमा शहादत प्राप्त गर्नुभयो । हजुरबाले जीवनभर निर्वासनसहित घर आगजनी र सर्वस्व हरणमा पर्नुपर्या । हाम्रो परिवारले अहिलेसम्म न्याय पाउन सकेको छैन”, उनको गुनासो छ ।
कार्यक्रममा थारु महिला सभा चितवनकी पूर्व अध्यक्ष धन्जु महत्तोले चितवनको बस्ती विकासका क्रममा आदिवासी थारुहरुले पहाडबाट बसाइँ सरेर आउने अन्य जातिहरुलाई सहृदय स्वीकार गरेर सहयोग गरेको बताइन् ।
“नयाँ बस्ती विकासका चरणमा यहाँ थारुहरु मात्रै थिए । बस्ती सरेर आउनेहरुलाई त्यो बेलासँगै राखेर अन्नको समेत व्यवस्था मिलाइदिएको प्रसङ्ग उपन्यासमा छ । जुन हाम्रा बा बाजेहरुले गर्नुभएको कथा अहिले पनि समाजमा सुन्न पाइन्छ”, उनले भनिन् ।
लेखक जीवन क्षेत्रीले २०१८ सालको आन्दोलनमा चितवनमा शहादत प्राप्त गरेका सहिदहरुको खोजी थप अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमको सहजकर्ता पत्रकार सरिता पौडेल थिए भने कार्यक्रममा बोल्दै लेखक वसन्त पराजुलीले अनुसन्धानमूलक उपन्यास लेखनका सीमा हुने हुँदा कतिपय पाठकले सोचे अनुसार कृतिमा विषयहरु समेट्न नसकिने स्वीकार गरे ।












