चितवन । चितवनमा हैजा संक्रमण फैलिन सक्ने जोखिम रहेको जनस्वास्थ्य कार्यालय चितवनले बताएको छ ।
कार्यालयले आज एक सूचना जारी गरी हैजाको संक्रमणबाट बच्न उच्च सकर्तकता अपनाउन आग्रह गरेको छ ।
पर्सा र चितवन जिल्लाबिच दैनिक आवतजावत तथा उपचारको लागि बिरामीको आवागमन हुने भएकाले जिल्लामा हैजाको संक्रमण फैलिने जोखिम रहेकाले सतकर्ता अपनाउन अनुरोध गरिएको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।
वीरगन्जमा हैजाले महामारीको रुपमा लिएको छ। अहिलेसम्म यस रोगबाट वीरगन्जमा २ जनाको मृत्यु भइसकेको छ भने सयौँ बिरामी परेका छन्।
हैजाको प्रकोप समुदाय स्तरमै फैलिएपछि वीरगन्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णय समेत गरेको छ। गर्मी समय, दुषितपानी, फोहोर र मानिसहरुको बढी आवतजावत हुने ठाउँमा हैजाको प्रकोप हुने भएकाले चितवनवासीलाई उच्च सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको हो।













