भरतपुर । नेपालको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन प्रवर्द्वनमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
भरतपुरस्थित बोस्टन इन्टरनेशन कलेजले शुक्रबार आयोजना गरेको बिएचएम ओपन हाउसमा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा ‘विश्वको प्रवेशद्धारः आतिथ्य शिक्षा उत्कृष्ट’ विषयमा सरोकारवालाहरुबीच छलफल भएको हो । उनीहरुले नेपालमा हस्पिटालिटी क्षेत्रको सम्भावना र चुनौतीको बारेमा छलफल गरेका थिए ।
बोस्टन इन्टरनेशन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले नेपालमा विदेशी पर्यटकको आगमनलाई बढाउन विस्तारको चरणमा रहेका सडकहरु छिटो निर्माण सम्पन्न गर्नुपर्ने बताए । पर्यटकको बसाई लम्ब्याउनका लागि सरकारले नै सोहि अनुसारको नीति बनाउनुपर्ने उनले बताए ।
जलविद्युत र पर्यटनबाटै देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिने भन्दै उनले पर्यटन विकासका लागि पहाडी टाकुराहरु भाडामा दिनुपर्ने बताए । कलेजले विभिन्न देशका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी ‘ग्लोबल स्ट्याण्डर्ड’मा आधारित सिकाई प्रदान गरेको उनको भनाई थियो ।
मेरियट होटलकि क्लस्टर निर्देशक अन्जना पौडेलले देशको अर्थतन्त्र चलायमान र बलियो बनाउन ठूला होटलहरुको भूमिका महत्वपूर्ण रहेको बताए । पढ्दै कमाउँदै गर्न सकिने भएकाले बिएचएममा विद्यार्थीहरुको आकर्षण बढेको उनले बताइन् ।
भरतपुरस्थित मलेवा ब्याङ्क्वेटका प्रबन्ध निर्देशक राजदिप ओझाले एकैपटक धेरै ग्राहकलाई सन्तुष्ट बनाउन सक्नु आफुहरुको चुनौती रहेको बताए । होटल व्यवसायालाई चलायमान बनाउन आफुहरुले विभिन्न किसिमको अफरहरु ल्याउने गरेको भन्दै उनले ग्राहकलाई सन्तुष्ट बनाउँदै उनीहरुको बसाई लम्ब्याउन फरक–फरक प्रकारका खानेकुराहरु पस्कुनपर्ने बताए ।
अंकुरम एकेडेमीको प्राचार्य सुमन पौडेलले सञ्चालन गरेको छलफल कार्यक्रममा गैंडाकोटस्थित इला रिसोर्ट मौलाकालीका महाप्रबन्धक अरविन्द केसी, सोल्टी वेस्टन रिसोर्ट चितवनका डिरेक्टर अफ सेल्स रमेश पाठक, रोयल टुलिपका फुड एन्ड वेबरेज डिरेक्टर जोनाथन मेन्डिस लगायत सहभागी थिए । कार्यक्रममा कलेजले बिएचएम तर्फको अध्ययनको विषयमा वृत्तचित्र पनि प्रस्तुत गरेको थियो ।












