हेटौँडा। राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको प्रगति सुस्त देखिएको छ । विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको द्रुतमार्ग आयोजनाका लागि हालसम्म ८० अर्ब ५४ करोड रुपियाँ खर्च भइसकेको नेपाली सेनाले जानकारी दिएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि द्रुतमार्गको अहिले लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ पुगेको छ ।
नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयोजनाको विसं २०८२ असार मसान्तसम्म भौतिक प्रगति ४२.१३ प्रतिशत छ । काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ४४ प्रतिशत भएको नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
जम्मा १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय हुन बाँकी रहेकाले खरिद प्रक्रिया सुरु हुनै बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।
उक्त खण्डमा पर्ने जग्गाको मुआब्जा वितरणका लागि सम्बन्धित जग्गाधनीसँग समन्वय भइरहेको छ । साथै जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानका लागि सम्भावित विकल्पको डिजाइन कार्यसमेत अगाडि बढिरहेको नेपाली सेनाका सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
हालसम्म स्वीकृत डिपीआर अनुसार खोकना–डुकुछाप क्षेत्रमा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १६०–०–२–१.६७ तथा मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी रहेको छ । द्रुतमार्गको सुरु विन्दु यकिन तथा अन्य डिजाइन परिमार्जनबमोजिम अधिग्रहण गर्न बाँकी जग्गाको परिमाणमा परिमार्जन हुन सक्ने देखिएको नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।












