चितवन । पश्चिम चितवनमा मंगलबारसम्म लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले भोलिदेखि आधिकारीक रुपमा सूचना नदिईकन लाइन काट्ने भएको हो ।
आइतबार तालिका बनाएर लाइन काटेपछि व्यापक आलोचना भएको भन्दै वितरण केन्द्रले साेमबार र मंगलबार विना तालिका दैनिक दुई देखि चारघण्टासम्म लाइन काट्ने भएको हो ।
चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर राजकुमार श्रेष्ठले मर्मत कार्यका लागि मंगलबारसम्म दैनिक दुईदेखि चार घण्टासम्म विद्युत अवरुद्ध हुने जानकारी दिए । ‘सोमबार पनि आइतबारकै सूचना अनुसार काम गर्ने कोशिश गर्छाैँ । एउटा फिडर दुईदेखि चार घण्टासम्म अवरुद्ध होला । मंगलबारदेखि आपूर्ती सहज हुन्छ’, उनले भने ।
लोड मिलाउनका लागि मनहरीदेखि काम भइरहेको भन्दै उनले मंगलबार बेलुकासम्म विद्युत आपूर्ती सहज हुने बताए । आइतबार विभिन्न तीन वटा फिडरहरु छ घण्टासम्म अवरुद्ध गरेर मर्मतको काम गरिएको हो ।
सूचना दिएर लाइन काटेपछि लोडसेडिङ भनिएको भन्दै उनले सोमबारदेखि सूचना ननिकालिकन लाइन काटिने बताए ।












