चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भारततर्फ लैजाँदै गरेको ६७१ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक प्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आज बिहान ४ बजे समयमा राप्ती नगरपालिका–१ लोथरबाट भारतीय नम्बरको कन्टेनर ट्रकसहित गाँजा बरामद गरेको हो ।
प्रहरीले युपी ८२ टि ३९२१ नम्बरको कन्टेनर ट्रक र ट्रक चालक भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया बस्ने ३७ वर्षीय शेख सविल अख्तरलाई नियन्त्रणमा लिएको छ ।
ट्रक चालक क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाई ४३ वटा पोकामा प्याकिङ गरी लुकाईछिपाई भारत लग्दै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
‘काठमाडौँ सामान छाडेर रित्तै फर्किएको कन्टेनरमा गाँजा लोड गरी भारततर्फ लैजादै गरेको खुलेको छ’, पुरीले भने, ‘राप्ती र मकवानपुरको माथिल्लो भेगबाट गाँजा आएको भन्ने बुझिएको छ । थप अनुसन्धान गर्दै छौँ ।’ लागुऔषध गाँजा कारोबारीले एक किलो गाँजालाई १० हजारदेखि १५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।











