चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आज चितवनको सदरमुकाम भरतपुरमा सुरु हुँदै छ। महाधिवेशनको अन्तिम तयारी पूरा भएको रास्वपा चितवनका अध्यक्ष मिनीमाधव खनालले जानकारी दिए।
महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ।
करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा उक्त डोम निर्माण गरिएको छ । यस्तै रास्वपाको ब्यानर, प्लेकार्ड र तोरणले नव विवाहित दुलही झैँ भरतपुर सजिएको छ।
प्रतिनिधिहरूलाई स्वागत गर्न ठाउँठाउँमा स्वागत गेट निर्माण गरिएका छन्। महाधिवेशनमा भाग लिन देशविदेशका प्रतिनिधि भरतपुर आउन थालेका छन्।
महाधिवेशनका लागि केन्द्रीय नेताहरू चितवन पुगिसकेका छन्। पार्टी सभापति रवि लामिछानेलगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्य उपस्थित भए। आज दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले महाधिवेशन संयुक्त रूपमा उद्घाटन गर्नेछन्। महाधिवेशन उद्घाटन कार्यक्रममा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूलाई आमन्त्रण गरिएको छ।
देशविदेशका शीर्ष नेता पनि महाधिवेशन उद्घाटन समारोहमा सरिक हुनुहुने रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए।
महाधिवेशनमा ट्राफिक व्यवस्थापन सहज बनाउन ड्रोनद्वारा अनुगमन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक अनिल थापाका अनुसार पश्चिमतर्फबाट आउने सवारीसाधनलाई चितवन माध्यमिक विद्यालयको चौरमा, पूर्वबाट आउने सवारीसाधनलाई विशाल चोक र केन्द्रीय बसपार्कमा पार्किङको व्यवस्था मिलाइएको छ।
यस्तै मोटर साइकलका हकमा भरतपुर अस्पताल अगाडिको मूल सडकमा पार्किङको व्यवस्था मिलाइएको छ। चारपाङ्ग्रे गाडी पार्किङ स्थलबाट भने कार्यक्रम स्थलसम्म लैजान बसको व्यवस्था मिलाइएको छ । महाधिवेशन स्थलसँग जोडिने सडकहरू मालपोत चोकदेखि चौबिसकोठीसम्म, दूरसञ्चार र हाकिम चोकदेखि भरतपुर अस्पतालसम्मको सडकमा सवारीसाधन निषेध गरिएको छ।
बन्दसत्र गरिने स्थल उद्योग सङ्घ चितवनको प्रदर्शनी कक्षको हलको विवाद सुल्झिएको छ। उद्योग मन्त्रालय र जिल्ला सुरक्षा समितिले पत्र नै लेखेर चितवन उद्योग सङ्घलाई हल उपलब्ध गराउन आग्रह गरेपछि सङ्घले बिहीबार साँझ नै हल उपलब्ध गराउने सहमति गरेको हो। बन्दसत्रका लागि हल पाउने निश्चित भएपछि रास्वपाले हलको सरसफाइको काम पनि सम्पन्न गरेको छ
रास्वपाको महाधिवेशनमा विद्युतीय प्रणालीमार्फत मतदान गराइने भएको छ। निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र फोटोमा स्पर्श गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ।
पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ। निर्वाचित सदस्यबाट पदाधिकारीहरूको निर्वाचन गरिने छ। असार ८ गते दिउँसो २ बजेदेखि मनोनयन प्रक्रिया सुरु गरी सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गर्ने र त्यसको परिणाम आएपछि भोलिपल्ट पदाधिकारीहरूको चयन गरिने रास्वपा नेता अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए।










