चितवन । गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित गुरुङको आज बिहान निधन भएको हो ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्व प्रमुख गुरुङको उनकै निवास भरतपुरको दिब्यनगरमा निधन भएको जानकारी दिए ।
तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेमा २००६ सालमा जन्मिएका गुरुङलाई २०७८ साउन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गरेकी थिइन् ।
उनी नेपाली कांग्रेस विभाजन रहँदा कांग्रेस प्रजातान्त्रिकको सभापति, सुकुम्वासी समस्या आयोग नवलपरासीको अध्यक्ष थिए ।
गुरुङ २०१८ सालमा चितवन आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका हरिप्रसाद गुरुङका भान्जा हुन् ।
गुरुङका छोरा हाल क्यानडा भएका कारण उनी फर्किएपछि अन्तिम संस्कार गरिने बताइएको छ । छोरा आइतबार बिहान नेपाल आइपुग्ने र त्यसपछि दिउँसो देवघाटमा दाहसस्कार गर्ने कार्यक्रम रहेको कांग्रेस नेता दलबहादुर गुरुङले जानकारी दिए । गुरुङका श्रीमती र एक छोरा छन् ।











