काठमाडौँ । विशेष अदालतले नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद हुने ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिएबापत ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो।
यस्तै सम्पत्ति शुद्धीकरणमा थप ३ वर्ष कैद तोकिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले थाहाखबरलाई जानकारी दिए।
अदालतले घुस लेनदेन भएको ठहर गर्दै बस्नेतसहित ४ जनालाई जनही २ करोड ३० लाखका दरले जरिवानासमेत तोकेको छ।
सम्पत्ति शुद्धीकरणतर्फ बस्नेतले १३ करोड १२ लाख ७३ हजार ३२ रूपैयाँको कसूर गरेको ठहर गर्दै बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ जरिवाना हुने र सम्पत्ति तथा जग्गासमेत जफत हुने ठहर गरेको विशेष अदालतले जनाएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गत पुस १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।












