भरतपुर । भरतपुरस्थित सिजी ल्यान्डमार्कको आडमा यामाहाको महाएक्सचेन्ज इभेन्ट आइतबारदेखि सुरू भएको छ । महाएक्सचेन्ज इभेन्टको चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसन (काडा)का अध्यक्ष राजन पियाले उद्घाटन गरेका हुन् । उक्त इभेन्ट असार २० गतेसम्म सञ्चालन हुने बताइएको छ । महाएक्सचेन्ज इभेन्टमा विभिन्न अफर तथा सुविधाहरुको व्यवस्था गरिएको छ ।
नवीन अटो सेन्टर नारायणगढका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्यले यामाहाको जतिसुकै पुरानो मोटरसाइकलको मूल्य न्यूनतम ५० हजार रूपैयाँ कायम गरिने बताए । तर, त्यस्तो मोटरसाइकल चल्ने अवस्थाको हुनुपर्छ । अतिरिक्त मूल्य १० हजार रूपैयाँ कायम गरिएको उनले जानकारी दिए । ‘एक्सचेन्ज इभेन्टमा गेम जोन पनि राखेका छौँ । टेस्ट ड्राइभ गर्दै खेल्दा खेल खेलेर गिफ्ट जित्न पनि सक्नुहुन्छ । हरेक दिन लक्की ड्रमार्फत एक जना ग्राहकलाई विशेष गिफ्ट प्रदान गरिनेछ’, उनले भने ।
काडाका अध्यक्ष पियाले नवीन अटो दुईपाङ्ग्रे सवारीका लागि स्थापित नाम भएको बताउँदै आफू पनि यामाहाको पुरानो ग्राहक भएको बताए । मोटरसाइकल तथा स्कुटरको सर्भिसमा नवीन अटोले धेरै ग्राहकको मन जितेको उनले बताए । ‘कोभिडपछि हाम्रो व्यापार धेरै घटेको छ । आज पनि हामी ६० प्रतिशतको हाराहारीमा मात्रै व्यापार गरिरहेको अवस्थामा छौँ’, उनले भने, ‘कोभिडअगाडिको जस्तो बिक्री कभरेज गर्न सक्ने अवस्था छैन ।’
राज्यले सवारीसाधनलाई विलासिताको वस्तुका रुपमा हेर्न नहुने उनी बताउँछन् । पूर्वाधार निर्माण एवम् व्यापार व्यवसाय र रोजगारीका लागि सवारीसाधनले ठूलो सहयोग गरिरहेकाले यसलाई विलासिताको वस्तुका रुपमा हेर्न नहुने उनले बताए । ‘अटो लोन लिँदा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्छ । यसले गर्दा पनि हाम्रो व्यापार एकदमै कम छ’, उनले भने, ‘मोटरसाइकल र स्कुटरको हकमा त हामी फाइनान्सिङका लागि सहकारीको भरमा छौँ ।’
एमएडब्लु इन्टरप्राइजेजका एएसएम मणिभूषण चौधरीले यामाहाबाहेकको मोटरसाइकल तथा स्कुटरको न्यूनतम मूल्य २५ हजार रूपैयाँ कायम गरिएको बताए । नगदमा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा छ हजार रूपैयाँसम्म छूट सुविधा पनि दिइने उनले जानकारी दिए । कार्यक्रममा नवीन अटो सेन्टरका बिजनेस हेड राजु स्वर्णकारलगायतको सहभागिता थियो ।












