चितवन । चितवनमा २२ औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाइएको छ । धान दिवसको अवसरमा आइतबार भरतपुर २४ मा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामूहिक रुपमा धान रोपेकी छन् ।
भरतपुर महानगरपालिका, कृषि विकास कार्यालय चितवन र केरुङ्का ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको संयुक्त आयोजनामा यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर २४ मा धान रोप्न पाएकोमा खुसी व्यक्त गरिन्। ‘विगतमा भरतपुर २४ सुख्खाग्रस्त थियो, उनले भनिन्, ‘सिँचाइको प्रबन्धले असार १५ का दिन धान रोप्न पाउँदा निकै खुसी छु । अहिले यो क्षेत्र भरतपुरको कृषि उत्पादनको केन्द्र बनेको छ ।
कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले हरेक वर्ष कृषकहरूले खेती लगाउने बेलामा रासायनिक मलको अभाव खेप्नुपरेको भन्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर हुनुपर्ने बताए
केही वर्ष अघि नेपालले कृषि उत्पादनहरू निर्यात गर्ने देशमा पर्ने गरेको भए पनि अहिले श्रम विदेश निर्यात गरेर खाद्यान्नहरू आयात गर्नुपर्ने अवस्थामा रहेको अधिकारीले बताए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले मन्तव्य राखेका थिए । त्यस्तै, धान दिवसमा अवसरमा हिले दौड, डोरी तान्ने प्रतियोगिता भएको थियो ।











