चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय परिसर, रामपुर, चितवनमा बायोसेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण गरिएको गरिएको छ ।
प्रयोगशालाको बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले सोमबार उद्घाटन गरे । प्रदेश सरकारको १५ करोडको आर्थिक सहयोगमा बनेको मन्त्री श्रेष्ठले विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियालाई हस्तान्तरण गरे ।
प्रयोगशाला भवन समुदघाटन कार्यक्रममा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठले विश्वविद्यालयमा निर्माण सम्पन्न भएको प्रयोगशाला भवन बागमती प्रदेश सरकारको गौरवको योजना रहेको बताए ।
मन्त्री श्रेष्ठले बागमती प्रदेशका ६ लाख किसानसहित देश भरिका किसानले यसबाट लाभ लिनसक्ने बताए । प्रयोगशालामा गरिने अनुसन्धानबाट प्राप्त नतिजालाई व्यवहारमुखी बनाउने चुनौतीलाई सामना गर्न समेत प्रदेश सरकारले सहकार्य गर्ने उनले बताए ।
कार्यक्रममा बागमती प्रदेश सरकारका वन मन्त्री कृष्णप्रसाद सिलवालले रोगका असर र रोकथामका विधी तयार गर्न प्रयोगशाला उपयोग हुने बताए । प्रविधीको प्रयोगले प्रयोगशाला निर्माणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताउँदै मन्त्री सिलवाललले विश्वविद्यालयमा पढाउने, अनुसन्धान गर्ने र किसानलाई समाधानका उपायहरु बाँड्न सफलता मिल्ने विश्वास व्यक्त गरे ।
प्रयोगशाला पशुपंक्षी एवं खेतीबालीमा देखिने रोग, किराको सुक्ष्म परीक्षणका लागि उच्चस्तरको विशिष्टिकृत सुरक्षा व्यवस्था सहित निर्माण गरिएको छ । ढुसी, ब्याक्टेरिया, भाईरसको सुक्ष्म अध्ययन, अनुसन्धानका लागि प्रयोगशाला बहुउपयोगी रहने विश्वविद्यालयका उपकुलपति प्रा।डा। शारदा थपलियाले बताईन् ।
प्रयोगशालाको अधिकतम उपयोग गर्नका लागि विश्वविद्यालयमा सक्षम जनशक्ति रहेको बताउँदै उनले भनिन्, ‘नयाँ प्रयोगशाला भवन पूर्ण रुपमा बायोसेक्युरीटी सहित बनेको छ । अहिले विश्वविद्यालयमा रहेकै मेशिनको प्रयोगबाट अगाडी बढ्नेछौं ।’ प्रयोगशालालाई सञ्चालनका आवश्यक थप नयाँ मेशिनहरु खरिदका लागि ५ करोड रुपैयाँ लाग्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहकार्य गरिने उनले बताईन् । प्रयोगशाला सञ्चालनका लागि कार्यविधीको मस्यौदा तयार भैसकेको र त्यसलाई अन्तिम रुप दिने कायै भैरहेको उपकुलपति प्रा।डा। थपलिया बताउँछिन् ।
समुद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री दावा दोर्जे लामा, विश्वविद्यालयका रजिष्ट्रार प्राडा पुष्कर बहादुर पाल, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डीन प्राडा भूमिनन्द देवकोटा लगायतले मन्तव्य राखेका थिए ।











