चितवन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनको आयोजनामा भोलि (शनिबार) बृहत शैक्षिक बहस हुँदै छ ।
‘संस्थागत विद्यालयको योगदान, अवसर र चुनौती’ विषयमा शैक्षिक बहस हुन लागेको हो । बृहत शैक्षिक बहसपछि चितवन घोषणा पत्र जारी गरिने प्याब्सन चितवनले आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
शैक्षिक बहसमा स्थानीय पालिकाका प्रमुख, शिक्षा विज्ञ, विद्यालयका प्रिन्सिपल, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि लगायत गरी करिब एक हजार ५०० जना सहभागी हुने अपेक्षा गरिएको छ । शैक्षिक बहसमा संस्थागत विद्यालयको योगदान, अवसर र चुनौती विषयमा कार्यपत्र पनि प्रस्तुत गरिनेछ ।
संस्थागत विद्यालयले पु¥याएको योगदानलाई जनमानसमा लैजानका लागि शैक्षिक बहसको आयोजना गर्न लागिएको प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले जानकारी दिए । शैक्षिक बहस भरतपुरस्थित सिराईचुली होटलमा शनिबार बिहान साढे १० बजेदेखि हुने उनले बताए । संस्थागत विद्यालयप्रति हेर्ने आम दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको भन्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्नमा संस्थागत विद्यालयको योगदान महत्वपूर्ण रहेको बताए ।
‘हामीमाथि धेरै शुल्क लिने, विद्यार्थीलाई विदेश पठाउने शिक्षा प्रदान गर्ने, शिक्षकलाई शोषण गर्ने विद्यालय भनेर आरोप लगाउने गरिएको छ’, पुरीले भने ‘यस्ता नकरात्मक सोच जनतालाई बुझाउनका लागि शैक्षिक बहसको सृजना गरेका हौँ ।’ राज्यले नियमन गर्नुपर्नेमा पटक–पटक कानुन संशोधन गरेर नियन्त्रण गर्ने काम गरेको उनले सुनाए ।
उनका अनुसार चितवनमा १६४ वटा नीजि विद्यालय छन् भने करिब ९४ हजार ७६४ विद्यार्थी अध्ययनरत छन् । यहाँका नीजि विद्यालयले वर्षेनी करिब २८ करोड रुपैयाँ बराबरको विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको उनले जानकारी दिए । जिल्लाका नीजि विद्यालयहरुमा करिब पाँच हजार शिक्षक कर्मचारी कार्यरत रहेको उनी बताउँछन् ।
‘नीजि विद्यालयहरुले विगत तीन वर्षदेखि शुल्क बढाएका छैनन् । तर, पनि हामीलाई विभिन्न किसिमको लान्छना लगाउने गरिएको छ’, उनी भन्छन्, ‘पलायनवादी सोँच नबनाउन राज्यलाई हाम्रो आग्रह हो ।’ नेपालभर भने सामुदायिक र संस्थागत गरी ३५ हजार ८७६ विद्यालय रहेकामा आठ हजार १४९ नीजि विद्यालय छन् ।












