चितवन । चितवनको इच्छाकामनामा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन बालबालिका बिरामी परेकोमा एक बालिकाको दुखद मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, विषालु च्याउको कारण ९ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो भने अन्य दुई जनाको अवस्था अझै चिन्ताजनक रहेको छ।
इच्छाकामना गाउँपालिका वडा नं. १, कुलबाङग बस्ने श्याम बहादुर चेपाङ र पदमा माया चेपाङको ५ जनाको परिवारले गत वैशाख २९ गते साँझ आफ्नै घरमा जङ्गली च्याउ पकाएर खाएका थिए। च्याउ खाएको केही समयपछि स्वास्थ्यमा समस्या देखिन थालेको र जेठ १ गते बिहान ९ बजेतिर मात्र उनीहरूलाई उपचारका लागि काउले स्वास्थ्य चौकी पुर्याइएको थियो।
स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् अवस्था जटिल बन्दै गएपछि उनीहरूलाई आज दिउँसो १२ः१५ बजे भरतपुरस्थित सरकारी अस्पतालमा रिफर गरिएको थियो। अस्पताल पुर्याइएका मध्ये ९ वर्षीया नमुना चेपाङलाई दिउँसो साढे २ बजे चिकित्सकले मृत घोषणा गरेको चितवन प्रहरीका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।
१३ वर्षीया मनिता चेपाङ र ११ वर्षीया सञ्जय चेपाङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मनिताको अवस्था गम्भीर छ भने सञ्जयको अवस्था मध्यम रहेको खनालले बताए ।
वर्षायामको सुरुवातमै वनमा उम्रने विषालु च्याउको पहिचान नगरी सेवन गर्दा यस्ता ज्यान लिने घटनाहरू दोहोरिने गरेकाले स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ।












