चितवन । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा शुक्रबार रुद्री पुजा गरिएको छ । विभिन्न कारणले बितेका गाईहरुको मोक्षको कामना गर्दै रुद्री पुजा गरिएको हो ।
आश्रमको गौशालामा स्थानीय जातका गाईहरुको संरक्षण गरेर राखिएको छ । गौशालामा बितेका गाईहरुको धार्मिक विधिअनुसार काजकिरिया गर्नुपर्नेमा त्यसो हुन सकेको थिएन ।
वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञमा आर्थिक, चरु र फलफुल तथा तरकारी सहयोग गर्ने मनकारीको संख्या बढ्दै गएको छ । सामाजिक तथा धार्मिक व्यक्तित्व देखि विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेको महायज्ञका संयोजक एवम् मुलकर्ता प्रेमनीधि भारद्धाजले बताए ।
व्यवसायी तथा धार्मिक व्यक्तित्व नारायण प्रसाद लखोटियाले बिहीबार ठूलो परिमाणमा तरकारी सहयोग गरेका थिए । उनले अढाई क्विन्टल लौका, साढे तीन क्विन्टल गाजर, चार क्विन्टल भिण्डी महायज्ञको लागि सहयोग गरेका हुन् ।
महायज्ञमा भागवत कथा वाचन पनि भइरहेको छ । प्रमुख वाचकमा ज्योतिष पण्डित परशुराम पाण्डेय रहेका छन् । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा भएको १३०औँ महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ ।
कोटिहोममा नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।
महायज्ञमा नौ वर्ष मुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पूजा गरिने छ । पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन हुनेछ भने पाँचसरे सवा करोड दीप प्रज्वलन गरिने छ ।











