चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको निषेधित क्षेत्रबाट अनधिकृत रूपमा वन पैदावार संकलन गर्ने र सुरक्षाकर्मीको विषयमा भ्रामक सन्देश फैलाउने कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निकुञ्जले सामाजिक सञ्जालमा भाइरल भएको ‘नेपाली सेनाले महिलालाई हटाएको’ भनिएको भिडियोको सत्यताबारे स्पष्ट पारेको हो।
निकुञ्जका अनुसार टिकौली–गोन्द्राङ सडकखण्डको दक्षिण किनारमा अवैध रूपमा निगुरो संकलन गरी बिक्री गरिरहेकी एक महिलालाई निकुञ्ज कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले शिष्टतापूर्वक सम्झाई–बुझाई सो स्थानबाट हटाएको थियो। उक्त स्थान निकुञ्जको मध्यवर्ती वन क्षेत्र अन्तर्गत पर्ने र त्यहाँबाट वन पैदावार संकलन गरी राजमार्गका यात्रीलाई बिक्री गर्ने कार्य पूर्णतः निषेधित रहेको कार्यालयले स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ कि उक्त सडक खण्ड चुरेदेखि महाभारत श्रृङ्खला जोड्ने महत्त्वपूर्ण जैविक मार्ग (Biological Corridor) हो, जहाँबाट एकसिङ्गे गैँडा र पाटे बाघ जस्ता दुर्लभ वन्यजन्तु ओहोरदोहोर गर्छन्। तीव्र गतिमा सवारी साधन गुड्ने सो क्षेत्रमा मानिसको उपस्थिति सुरक्षाका दृष्टिले समेत अत्यन्तै जोखिमपूर्ण मानिन्छ। विगतदेखि नै पटक–पटक सम्झाउँदा पनि अटेर गरेपछि वैशाख ३० गते सौराहा सेक्टरबाट खटिएको टोलीले ती महिलालाई सम्झाई–बुझाई पठाएको निकुञ्जको दाबी छ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ विपरितका गतिविधि गर्ने र सुरक्षाकर्मीको मनोबल गिराउने उद्देश्यले भ्रामक भिडियो फैलाइएको भन्दै निकुञ्जले त्यस्ता सामग्रीमा विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, बिना प्रमाण तथ्यहीन भिडियो बनाई व्यक्तिगत स्वार्थका लागि दुष्प्रचार गर्नेहरूलाई कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा प्रक्रिया अगाडि बढाइने निकुञ्ज सूचना अधिकारी अविनाश थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।











