हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ ।
सोमबार साँझ बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रु बस ब्रेक फेल भएपछि अनियन्त्रित हुँदा सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पुर्याइएको छ भने अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।प्रहरीले बसचालक २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।












