काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकमध्ये औसतमा दिनको चार जनाको शव भित्रिने गरेको छ।
वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दस महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७ जनाको शव भित्रिएको हो । यो तथ्याङ्क अनुसार प्रत्येक महिना १२२ जना र दिनमा चार वटा शव नेपाल भित्रिन्छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, तथापि यो सङ्ख्या वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर गएर करार अवधिभित्र रोजगारीका क्रममा ज्यान गुमाएर बोर्डबाट आर्थिक सहायता लिनेको मात्र हो।
भ्रमण भिसामा गएका र करार अवधि सकिएर पनि विदेशमै काम गरिरहेको अवस्थामा ज्यान गुमाउनेको सङ्ख्या यसमा पर्दैन तर त्यसको पनि नतिजा उस्तै रहेको बताइन्छ, आधिकारिक तथ्याङ्क भने भेटिँदैन ।
बोर्डका अनुसार गत आर्थिक वर्ष २०८/८१ मा एक हजार ३७८ जनाले ज्यान गुमाएका थिए। चालु आवको १० महिना र गत आवको तथ्याङ्क विश्लेषण गर्दा चालु आव वैदेशिक रोजगारीमा मृत्यु हुनेको सङ्ख्या बढ्ने देखिन्छ। वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको ठुलो सङ्ख्या मध्यपूर्वका (खाडी) र मलेसियामा काम गर्ने श्रमिक छन् । अन्यमा दक्षिण कोरिया, जापान, युरोपेली देशलगायत छन् ।
बोर्डका निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या खाडी र मलेसियामा बढी भएकाले मृत्यु हुनेको सङ्ख्या पनि तिनै देश जानेहरू बढी भएको जानकारी दिए।
बोर्डका अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवार र अङ्गभङ्ग भएर फर्किएकालाई आर्थिक सहायतास्वरूप ५८ करोड रुपियाँ भुक्तानी गरिसकिएको छ भने ८८ करोड रुपियाँ भुक्तानीको क्रममा छ। बोर्डले आर्थिक सहायता वितरणका आधारमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको सङ्ख्या यकिन गर्दै आएको छ।












