चितवन । फेन्सी व्यवसायीहरूको राष्ट्रिय स्तरको छाता संगठन गठन गर्ने उद्देश्यसहित देशभरका फेन्सी जिल्ला संघहरूको राष्ट्रिय भेला आउँदो जेठ २३ र २४ गते चितवनमा आयोजना हुने भएको छ।
महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष राम प्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् । उनका अनुसार भेलामा देशभरका फेन्सी व्यवसायी संघहरूको सहभागिता रहनेछ र यसले फेन्सी व्यवसायलाई व्यवस्थित, एकीकृत र सशक्त बनाउने लक्ष्य लिएको छ।
भेलामा महासंघ गठनसम्बन्धी आवश्यक छलफल, विधान निर्माण, संगठनात्मक संरचना तय तथा भावी कार्यदिशाबारे व्यापक बहस हुने कार्यक्रम रहेको जनाइएको छ।
साथै, व्यवसायीहरूका साझा समस्या, बजार व्यवस्थापन, कर प्रणाली तथा व्यवसाय प्रवर्द्धनका विषयमा समेत छलफल गरिनेछ। संयोजक पौडेलले सबै जिल्ला संघहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै यस ऐतिहासिक भेलाले फेन्सी व्यवसायीहरूको हकहित संरक्षण र व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।












