काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारीको पीडित नारायण पहराइले पुनः आफुले रवि लामिछानेविरुद्ध कुनै पनि जाहेरी नदिएको बताएका छन् । रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्न दिएको सर्वाेच्चको आदेशमा पनि आफुलाई मुख्य जाहेरीकर्ता बनाएको देखेपछि पहराइले विलौना गरेका हुन् ।
रविविरुद्धको मुद्दामा प्रहरी र राज्यसंयन्त्रले आफूलाई जबर्जस्ती तानेको र आफ्नै कारण उनी थुनामा गएका भए पापको भारी बोक्न नसक्ने भन्दै पीडा सार्वजनिक गरेका हुन् ।
‘म जाहेरीकर्ता होइन, मलाई प्रहरी र राज्यसंयन्त्रले जबर्जस्ती मुद्दामा तानेको छ । तर, सर्वोच्चको आदेशमा समेत मेरै नाम उल्लेख गरी वादी बनाएर राखिएको रहेछ,’ शनिबार राति फेसबुकमा उनले गम्भीर मनोभाव व्यक्त गर्दै लेखेका छन्, ‘मेरै कारणले रवि लामिछाने थुनामा परेका हुन् भने म यो पापको भारी बोक्न चाहन्नँ । कृपया दया गरी मेरो नाम उजुरीकर्ताबाट हटाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’
सहकारीको पीडितमध्ये एक पहराईले आफ्नो सादा निवेदनलाई सहमतिविना जाहेरी बनाइएको दाबी गरेका छन् । ‘मैले यसअघि पनि जानकारी गराइसकेको थिएँ कि म जाहेरीकर्ता होइन, सादा निवेदनलाई जाहेरी बनाएर मेरो नाम दुरुपयोग गरियो,’ उनले राज्य संयन्त्रलाई प्रश्न गरेका छन्, ‘सयौँ पीडितमध्ये किन मेरो निवेदनलाई मात्र जाहेरीका रूपमा लिइयो ? के मलाई यो देशमा बाँच्ने अधिकार छैन ? विदेश नै जानुपर्ने हो ? किन मप्रति सरकारले प्रतशोध साँध्दै छ ?’
रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिने क्रममा सर्वोच्चले ‘नारायणबहादुर पहराईसहितको जाहेरी’ उल्लेख गरेको छ । जबकि पहराईले कसैविरुद्ध उजुरी नै नदिएको बताउँदै आएका छन् । यो घटनाले उजुरीकर्ताको नाम प्रयोगमा रहेको प्रक्रिया, सहमति र वैधानिकतामाथि नै प्रश्न उठाएको छ ।













