काठमाडौँ । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको बताए । नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी तयार भएपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई पठाइने बताए ।
पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पीआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ । अहिले कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ पाठ्यक्रम अनुसारको पीआरसी तयार भइसकेको र ८ को काम भइरहेको महानिर्देशक अर्यालले बताए ।
कक्षा ५ को पीआरसी भने जनक शिक्षालाई पठाइएसकेको केन्द्रले जनाएको छ । त्यस्तै कक्षा ८ र १० को केही दिन पठाउने तयारी भइरहेको महानिर्देशक अर्यालले बताए । योसँगै विद्यालय शिक्षाका सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लागु हुनेछन् ।











