काठमाडौँ । भारतको विदेश मन्त्रालयले भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
मन्त्रालयले सामाजिक सञ्जालमार्फत उक्त दुःखद घटनाबारे जानकारी प्राप्त भएदेखि ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।
ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गर्ने र ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
भारतले सबै अन्तरराष्ट्रिय विद्यार्थीहरुको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको जनाएको छ। “हामी यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरु, ओडिशा राज्य सरकारका साथै केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौँ”, विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।











