काठमाडौं । अमेरिकी सरकारले अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बन्द गर्ने निर्णय गरेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन्।
आजको नागरिक दैनिकमा समाचार छ, अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी (डिओजिई)ले एमसिसी बन्द गरेको घोषणा गरेको छ। दुई देशका संसद्बाट पारित भएको एमसिसी अमेरिकाले एक पक्षीय रूपमा रोक्ने घोषणा गरेको हो।
शनिबार नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले एमसिसीप्रति लक्षित गर्दै मुलुक बनाउन अरूको आस गर्न नहुने टिप्पणी गर्दै असन्तुष्टि जनाएका हुन्। दुई देशका संसद्बाट पारित गरेको भए पनि एमसिसी अमेरिकी पक्षबाट बन्द गरिएको विषयलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। केही देशमा एमसिसी निरन्तर हुने भनिएको भए पनि नेपाल नआउन सक्ने उनले बताए।
एमसिसी करिब ५५ करोड डलर अनुदान (करिब साढे ७५ अर्ब रूपैयाँ) को परियोजना हो। ट्रम निर्वाचित भए लगत्तै सुरुमा रोकिएको परियोजना मार्चमा निरन्तर हुने संकेत गरेको भए पनि फेरि रोकिएको छ।
अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन चैत दोस्रो साता अनुमति प्रदान गरेको एमसिए नेपालले जनाएको थियो।












