काठमाडौं । मुलुकमा आयात हुने ७५ देखि ८० प्रतिशत डिजेल पाइप लाइनबाट भित्रिने गरेको छ । नेपाल आयल निगमका अनुसार मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट ७५ देखि ८० प्रतिशत डिजेल आउने गरेको हो ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, निगमका अनुसार वार्षिक माग १७ लाख किलोलिटर डिजेल आयात हुने गरेकामा अहिले १३ लाख किलोलिटरसम्म डिजेल पाइप लाइनबाट आयात हुन थालेको हो ।
अमलेखगन्जमा पाइप लाइनमार्फत आयात भएको डिजेल अन्य ठाउँमा वितरण हुने गरेको छ । ठुलो परिमाणमा पाइप लाइनमार्फत डिजेल आयात हुन थालेपछि आयात गर्दा लाग्ने ढुवानी खर्च वार्षिक ४९ करोड रुपियाँभन्दा बढी रकम बचत हुन गरेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पाइप लाइनबाट डिजल आयात हुन थालेपछि चुहावट दर घट्नका साथै ढुवानी गर्ने ट्याङ्करको सङ्ख्या घटेको जानकारी दिए ।
“मुलुकमा खपत हुने कुल डिजेलमध्ये करिब ८० प्रतिशतसम्म मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट आपूर्ति हुन्छ,” ठाकुरले भने, “पाइप लाइनबाटै डिजेल आयात हुन थालेपछि ट्याङ्करबाट हुने ढुवानी रोकिनुका साथै यसले गर्दा ढुवानीबापतको रकम जोगिँदा निगमलाई बचत भएको हो ।”
निगमका अनुसार पाइप लाइनबाट ट्याङ्करमार्फत इन्धन आयात गर्दा लामो दुरी, ट्राफिक जाम, भन्सार जाँचपासमा लाग्ने समय पनि बचत भएको छ । त्यसै गरी श्रम शक्ति, मेन्टिनेन्सलगायतका क्षेत्रमा हुने खर्च करिब ५० करोड रुपियाँ वार्षिक रूपमा थप जोगिएको निगमको भनाइ छ । २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँबाट र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल प्रविधिमार्फत दिल्लीबाट संयुक्त रूपमा रिमोट थिचेर पाइप लाइनको उद्घाटन गरेका थिए । सोही दिनबाट पाइप लाइनबाट नियमित रूपमा नेपालमा डिजेल आपूर्ति भइरहेको छ ।












