काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेट्न सिंहदरबार गएका शिक्षक नेताहरू गेटबाटै फर्किए । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जनाको जम्बो टोली सिंहदरबारको गेटमा पुगेको थियो ।
त्यसका लागि शिक्षा मन्त्रालयले २५ जनाको सूची गेट पासका लागि सिंहदरबारको गेटमा पठाएको थियो । सुरक्षाकर्मीले सोही अनुसार मन्त्रीलाई भेट्न आउने शिक्षक नेताहरूको गेट पास लिएर बसेको थियो ।
सिंहदरबारभित्र जान पुगेका शिक्षक नेताहरू सिंहदरबारको गेटबाटै फर्किए । उनीहरू शिक्षामन्त्रीलाई भेट्न भित्र नगईकन गेटबाटै फर्किएका हुन् । शिक्षामन्त्री पन्त र शिक्षा सचिव डाक्टर दीपक काफ्लेले उनीहरूलाई वार्तामा आउन आग्रह गरेका थिए । वार्ताका लागि आह्वान गरेको दुई घण्टा नबित्दै शिक्षकहरू छलफल गर्न तयार भएका थिए ।
त्यसैका लागि सिंहदरबार पुगेका उनीहरू गेटबाटै फर्किएका हुन् । महासङ्घ अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा विशेष कारणले गेटबाटै फर्किएको बताएका छन् । त्यो विशेष कारण के हो भन्ने विषयमा भने खुलाएका छैनन् ।
उनीहरूले सिंहदरबार बोलाएर सुरक्षाकर्मीले गेटमै रोकेपछि फर्किएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले छलफलमा बोलाएर भित्र छिर्न नदिएपछि गेटबाटै फर्किएको बताए ।
आफूहरूले नपठाएको नामको सूची गेट पासका लागि भने सरकारको तर्फबाट सार्वजनिक भएकोमा समेत शिक्षक नेताहरूले आपत्ति जनाएका छन् । शिक्षा मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासङ्घले तयार नपारेको अध्यक्ष सुवेदीले बताए ।
आज नवनियुक्त मन्त्रीसँग औपचारिक भेटका लागि मात्रै जाने तयारी रहेको तर, विशेष कारणले मन्त्रालय प्रवेश नगरी फर्किएको अध्यक्ष सुवेदीको भनाइ छ । मन्त्रीको सचिवालयले भने भित्र छिर्न नदिएको भन्ने कुरामा कुनै सत्यता नरहेको जनाएको छ । मन्त्रालयको तर्फबाट साढे १ बजेतिर नै गेट पास उपलब्ध गराइएको मन्त्रीको सचिवालयका एक सदस्यले बताए ।












