काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले वीरहरुले बलिदानी दिएर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई सिध्याइदिन्छु भन्ने दुःसाहस नगर्न राजावादीहरुलाई चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको शुक्रवारको बैठकमा प्रमुख सचेतक घिमिरेले यस्तो चेतावनी दिएका हुन्। विभिन्न प्रलोभनमा २/४ हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा व्यवस्था नपल्टिने उनको भनाइ छ।
यदि कसैले तोडफोड, लुटपाट र आगजनी गर्दैमा व्यवस्था पल्टाइदिने कुरा गर्छ भने त्यो जत्तिको अराजनीतिक मान्छे अरु कोही नहुने उनको जिकिर छ। उनले अराजनीतिक मान्छेबाट व्यवस्थालाई कुनै पनि चुनौती नरहेको समेत बताए।
उनले भने, ‘आज एकाएक समाजमा जन्मिएका नेपाली समाजले पत्याउन पनि नसकेको एउटा झुण्डले यो देशमा बलिदानी वीरहरुले लोकतान्त्रिक गणतन्त्रलाई मिति तोकेरै सिध्याइदिन्छु भन्ने दुःसाहस नगरे पनि हुन्छ। आन्दोलन गर्ने विषय कति कठिन छ त्यो त गरेकाहरलाई नै थाहा छ। चैत १५ गते झैँ विभिन्न प्रलोभनमा दुईरचार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा कसैले व्यवस्था पल्टाइदिन्छु भन्छ भने त्यो जति अराजनीतिक मान्छे कोही पनि हुँदैन‚’ उनले भनने‚ ‘यस्ता अराजनीतिक मानिसहरुबाट यो व्यवस्थालाई कुनै चुनौती हुन सक्दैन। त्यसकारण लोकतन्त्र कुनै वाद, व्यवस्थाभन्दा पनि जीवनपद्धति र संस्कार हो।’












