अनिल ढकाल
हिजो उद्घाटन स्थलमा मैले जे देखेँ…खुच्चिम भन्न बसेका रमितेहरु जिल खाए ।
सन्दर्भ भरतपुर गोन्द्राङ सडक खण्डको उद्घाटनको हो । यही सडकको विषय बनाएर चितवनका केही पक्ष प्रधानमन्त्री केपी शर्मा ओली र रेनु दाहालबीच द्वन्द्व बनाउने अनि प्रधानमन्त्री बोलाएर मेयर दाहालमाथि गाली ब्यङ्ग्य गराउने तयारी थियो । तिनलाई लाग्यो प्रधानमन्त्री ओलीले भरतपुरमा आएर दाहाललाई गाली गर्छन् । प्रधानमन्त्री ओली कार्यक्रम स्थलसम्म नआउँदा सबैलाई यही सोँच थियो कि प्रधानमन्त्रीले पक्कै झटारो हान्छन् ।
जब प्रधानमन्त्री ओलीले उदघाटनका लागि रिबन काट्न लागेका थिए । उनले ठुलो छाती बनाए । संगै रहेकी मेयर रेनु दाहाललाई बोलाएर कैचीमा हात समाउन लगाए । उदघाटनको स्तम्भ अनावरणको बेला पनि प्रधानमन्त्री ओलीले मेयर दाहाललाई नै खोजे, डोरी तान्न लगाए । त्यसपछि मञ्चमा पानसमा बत्ती बाल्ने क्रममा पनि यही दृष्य देखियो । यसमा संगै थिए प्रकाशमान सिंह र यातायातमन्त्री देवेन्द्र दाहाल पनि ।
त्यसो त प्रधानमन्त्री ओलीको स्वागतको लागि मेयर दाहाल विमानस्थल पुगेकी थिईन् । उनले हार्दिकताका साथ स्वागत गरिन् । प्रधानमन्त्रीले के छ छोरी ? सन्चै छौ ? भनेको शब्दले राजनैतिक आचरण संस्कारमा महानता देखियो । प्रधानमन्त्री मुलुक बनाउन हिँडेका, जिल्लाका केही नेताले कान फुक्दैमा, उनीहरुले कुरा लगाउदैमा त्यो लडममा लागेनन् । मेयर दाहालले सम्मानको साथ महानगरमा स्वागत र धन्यवाद ब्यक्त गरिन् । विकासको योजनाको लागि धन्यवाद र नयाँ योजनाको लागि सहयोगको अनुरोध गरिन् ।
हिजो सबैलाई लागेको थियो ओली–दाहालको भयकंर वाकयुद्ध हुन्छ । तर त्यो देखिएन । लामो दुरीको राजनैतिक अनुभव संगालेका प्रधानमन्त्रीले सरल र शान्त भावमा सबैलाई सम्झिएर, सम्झाएर गए । ओलीले आज खुब गाली गर्छन्, हामी मंच अगाडी बसेर खुच्चिम भन्न निकै उफ्रिएका नेता जिल खाए । सामाजिक संजालमा छरपष्ट हुने गरी वाक युद्धमा उत्रिएका दुवै तर्फका कार्यकर्ता, केही तेस्रो पक्ष पनि हिस्स भए । हिजोको कार्यक्रमको सबैभन्दा बढी मन मन परेको गाली विनाको राजनिति होइन । राजनिति जानेकाले विषय बुझ्छ, परिस्थिती बुझ्छ ।
भरतपुरमा प्रधानमन्त्री केपी ओलीले त्यही सद्भाव देखाए । सायद यस्ता झिना मसिना कुरालाई उनले मतलब गरेनन् । त्यसबेला रिबन मात्रै काटिएन, सायद इगो पनि काटियो । अनावश्यक यो सडक उद्घाटन भन्दा पनि इगो र ईश्र्याको विषय थियो । सायद प्रधानमन्त्री मार्फत मेयरलाई रिस पोख्ने भन्दै अनुहारमा खुबै चमक बनाएकाहरुको अनुहार पछि हेर्न पाइएन । सायद कोमामा पो पुगेकी भनेर ब्यङ्ग्य गरेको पनि सुनियो । ज्वरो पो आयो कि ।
यो सडक संघीय सरकारले बनाएको हो । सरकारले नगरेको भए महानगरको बजेटले हुनै सक्दैन । यो पनि सत्य हो, भरतपुर महानगरपालिकाले थालनीको लागि पहल गरेकै हो । छातीमा हात राखेर भन्न सक्नपर्छ भरतपुर महानगरको तत्परता, पहलमा नेपाल सरकारले बनाएको हो । मेयरले फाइल बोकेकै हो । पहुँचकै भरमा आएको हो । उपप्रमुख, सबै वडाध्यक्ष, कर्मचारी सबै लागेकै हुन् ।
नेपाल सरकार, यो त्यो भनेर कुतर्क गरिरहँदा नैतिकता पनि भुल्नभएन । भोलीको कता मिल्छ के थाहा ? प्रधानमन्त्रीको हिजोको ब्यवहार, सद्भावले म प्रभावित भए । हिजोको कार्यक्रम सद्भावपूर्ण भयो । गालीको राजनितिले देश विग्रियो । आफ्ना एजेण्डा, तर्क नहुने । अरुलाई लागी गरेर ठालु बनेर के गर्ने आफ्नो पार्टी सम्हाल्न नसकेर ध्वस्त भइसक्यो । अर्काको घरतिर हेरेर होला र हजुर ?
पत्रकार अनिल ढकाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष समेत हुन् ।











