पोखरा । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता नभएको बताएका छन् ।
आज पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र एमालेका बिचमा कुनै समस्या नभएको समेत बताए ।
गृहमन्त्री लेखकले भने, ‘काम गर्दै जाँदा केही विषय आए छलफल गर्छौं र निराकरण गरिएको छ । सरकार बदलिन्छ भन्ने हल्लामा सत्यता छैन । हामी छलफलबाटै सम्बोधन गरेर सहमतिमै अघि बढ्छौँ ।’
लेखकले गभर्नर नियुक्तिको विषयले पनि सरकारलाई अप्ठ्यारो नपर्ने बताए । पछिल्लो समय संविधान विरोधी गतिविधि देखापरेको बताउँदै पूर्व राजावादीहरू लोकतन्त्र र गणतन्त्र समाप्त गरेर पश्चगामी अभियानमा रहेको समेत उनले बताए ।
लेखकले भने, ‘लोकतन्त्रको विकल्पमा जनताले निरङ्कुशता रोज्ने सम्भावना छैन । गणतन्त्रको विकल्पमा राजा रोज्दैनन् ।’ उनले यो संविधान पनि असफल भए मुलुकमा अस्थिरताको अन्त्यहीन शृङ्खला सुरु हुने बताए ।










