चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ छाता चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य चार जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ ।
आज दिउँसो १ बजेको समयमा बुद्धनगरबाट अमृतचोकतर्फ आउदै गरेको ना ५१ प २०४० नम्बरको मोटरसाइकल र देविस्थानबाट मुख्य बाटोमा निस्किँदै गरेको बागमती प्रदेश०६–००२ प १३०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनको प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ना ५१ प २०४० नम्बर मोटरसाइकलको चालक भरतपुर–२७ बस्ने वर्ष ३९ को टेक बहादुर पुलामी मगरको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज दिउँसो १ः५० बजे मृत्यु भएको खनालले बताए । घाइतेको टाउकोमा गम्भीर चोट लागेको थियो ।
सोहि मोटरसाइकलको पछाडि सवार सोहि ठाउँ बस्ने वर्ष २७ को केशरी पुलामी मगरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । सोहि मोटरसाइकल पछाडि सवार वर्ष १७ की सुजिता पुलामी मगरको अवस्था मध्यम छ ।
त्यस्तै, बागमती प्रदेश०६–००२ प १३०४ नम्बरको मोटरसाइकल चालक ३५ वर्षीय विशाल भट्टराईको पनि अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरुहेको छ ।
सोहि मोटरसाइकल पछाडि सवार २९ वर्षीय सफल पौडेलको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।












