कटारी । आज बिहान परेको वर्षापछिको बाढीले उदयपुरको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ।
सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको उक्त वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए। ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँच्चिएको छ।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार पुल भाचिँदा दुई करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो। ‘त्यहाँ राखिएका तार २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्याइदियो’, उनले भने, ‘यसको बिमा गरिएको हुन्छ अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ।’
५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको ह्युमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उनको भनाइ छ।












