काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपा मानव अधिकार आयोग पुगेको छ ।
पार्टीले आज आयोग पुगेर लामिछानेमाथि सरकार पक्षले गरेको गैरकानुनी व्यवहारबारे ध्यानाकर्षण गराएको हो ।
आयोगमा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार, बागमती प्रदेश सभापति अच्युतम लामिछाने, केन्द्रीय सदस्य प्रमिला कुलुजु लगायत नेताहरु पुगेर ध्यानाकर्षण गराएका हुन् ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुपक्र्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । आदेश आएको १ घण्टा पनि नबित्दै प्रहरीले बुढानिलण्ठस्थित उनको निवास घेरेको थियो ।
पक्राउ पुर्जी समेत नलिई पुगेका प्रहरीहरु लामिछानेको बेडरुममा समेत प्रवेश गरेका थिए । लामिछानेले आफू गिरफ्तारी दिने बताउँदा बताउँदै प्रहरीको सो व्यवहारबारे रास्वपाले खेद प्रकट गरेको छ ।
त्यस्तै पक्राउ गर्न आएको प्रहरीले ‘अन्तिम इच्छा’ भन्दै गरेको प्रश्नलाई लिएर चौतर्फी आलोचना भइरहेको बेला पार्टीले आयोगको ध्यानाकर्षण गराएको हो ।












