चितवन । चितवनको भरतपुरमा गएराति धारिलो हतियार (चक्कु) प्रहार गरी एक युवकको हत्या भएको छ। भरतपुर महानगरपालिका–७, बुद्ध चोकस्थित सम्भव अटो पसलमा कार्यरत अन्दाजी ३० वर्षीय आशिष खनालको हत्या भएको हो।
प्रहरीका अनुसार, मंगलबार राति करिब ११ः५० बजेको समयमा नाम र ठेगाना नखुलेको एक पुरुषले खनालमाथि चक्कु प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका खनाललाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको थियो।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले जाँच गर्ने क्रममा गएराति १२ः२० बजे उनलाई मृत घोषणा गरेका हुन्। मृतक खनालको हालसम्म स्थायी ठेगाना खुल्न सकेको छैन।
घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट कृष्णपुरबाट प्रहरी सहायक निरीक्षक अनिल कुमार झाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल कृष्णपुर पोष्टबाट करिब २ किलोमिटर पूर्वमा पर्दछ।
चक्कु प्रहार गर्ने व्यक्ति घटनास्थलबाट मोटरसाइकलमा फरार भएको बुझिएको छ। फरार व्यक्तिको पहिचान र खोजी कार्यका लागि जिल्लाका विभिन्न नाकाहरूमा प्रहरी परिचालन गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।











