भरतपुर । आँपटारीस्थित योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञलाई सफल बनाउन गैंडाकोट नगरपालिका–२ बस्ने हेमकान्त लम्सालले ५० हजार पाँच रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आज (आइतबार) महायज्ञस्थल पुगेर लम्सालले उक्त रकम सहयोग गरेका हुन् ।
त्यसैगरी, काठमाडौँ–१४ बस्ने यज्ञ आचार्य नारायणप्रसाद पोखरेलले पनि महायज्ञलाई २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आफ्ना स्वर्गीय छोरा अर्जुन पोखरेलको स्मृतिमा बुबाले महायज्ञलाई आर्थिक दान गरेका हुन् । छोरा अर्जुन नेपाली सेनाको प्राविधिक सेनानीमा कार्यरत थिए ।
राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञमा आर्थिक तथा चरु दान गर्नेको संख्या बढ्दै गएको छ ।
महायज्ञको प्रमुख वाचक परशुराम पाण्डेय रहेका छन् भने मुलकर्ता प्रेमनीधि भारद्धाज रहेका छन् । प्रमुख वाचक पाण्डेयले महायज्ञमा भागवत कथा वाचन गरिरहेका छन् । महायज्ञ आगामी असार १३ गतेसम्म चल्नेछ ।












