चितवन । हाल ६०० शय्यामा सञ्चालन भइरहेको भरतपुर अस्पतालमा आगामी सात महिनाभित्र १०० शय्या थप गर्ने तयारी गरिएको छ । अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलका अनुसार अबको सात महिनाभित्र अस्पताल ७०० शय्यामा सञ्चालन हुने छ ।
अस्पतालको आज सम्पन्न ६९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पौडेलले ७०० शय्यामा सञ्चालनमा आएपछि भरतपुर अस्पतालको क्षमता काठमाडौंको वीर अस्पताल र महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल बराबर हुने बताए ।
यो अस्पताललाई सरकारले २०७५ सालको फागुन ३ मा संघीय मन्त्रालयअन्तर्गत राखेर विशिष्टिकृत रेफरल हस्पिटल घोषणा गरेको थियो ।
‘शय्या, पूर्वाधार र जनशक्तिका आधारमा हामी नेपालकै प्रमुख अस्पतालमा पर्दछौं । तर हामीलाई काठमाडौंको कर्मचारी वृत्त र राजनीतिक नेतृत्वको समूहले सानै ठान्छन्’ उनले भने ।
न्यूनतम सेवा स्तरको मूल्यांकनमा १०० अंकमा ७७ अंक ल्याएर भरतपुर अस्पतालले नेपालमा दोस्रो स्थान प्राप्त गरेको पनि उनले जानकारी गराए । अस्पतालमा हाल १ हजार २ सय ११ जना कर्मचारी छन् । जसमध्ये करिब ४ सय कर्मचारीले नेपाल सरकारको स्रोतबाट र बाँकी आठ सय कर्मचारीले अस्पताल विकास समितिको कोषबाट तलब खाने गरेको पौडेलले बताए । तर सरकारबाट तलब खाने अस्पतालका लागि स्थानीय जनशक्ति १५० शय्याबराबरको मात्रै रहेका छन् ।
अस्पताल विकास समितिको कोषमा स्वास्थ्य बिमा बोर्ड र अस्पतालको नगद आम्दानी जम्मा हुने गर्दछ । अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमा गरेको हुने गरेका डा पौडेलले बताए । गरिब असाहय बिरामीका लागि गत वर्ष साढे चार करोड रुपैयाँ खर्च भएको थियो । सरकारले डेढ करोड रुपैयाँ मात्रै दिएको थियो ।
बिमाबाट शोधभर्ना पाउनु पर्ने रकम बक्यौता रहन थालेका कारणले समस्या आउने संकेत देखिएको डा पौडेलले बताए । बिमाबाट सोध भर्ना पाउनु पर्ने रकम फागुनसम्म ४४ करोड ६६ लाख रुपैयाँ पुगेको उनले जानकारी दिए । फागुनसम्म अस्पतालको आम्दानी ६७ करोड ५८ लाख रुपैयाँ र खर्च ८१ करोड पाँच लाख रुपैयाँ रहेको र आम्दानीभन्दा १३ करोड रुपैयाँ बढी खर्च भएको पनि डा पौडेलले बताए ।












