काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका सवारीसाधन चलाउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमवार सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री दाहालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले मापदण्डविपरितका गाडीहरुको कारण यात्रुवाहक सवारी साधनमा समेत प्रभाव परेको र गृह मन्त्रालयसँग बसेर आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए।
उनले मालवाहक सवारी साधनहरूको तौलपुलको विषयमा समेत सरकारको ध्यानाकर्षण भएको बताए। उनले मालवाहक गाडीहरूको नापतौलबारे अध्ययन गर्न कार्यदल बनाएको र उक्त समस्या छिट्टै समाधान गरिने बताए।
उनले मालवाहक सवारी साधनको अनुगमन र आवश्यक कारबाही प्रक्रियामा प्रहरीले सहयोग नगरेको समेत बताए। उनले प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडीहरू चलाउन दिएको आरोप लगाए।
उनले गाडीहरूको ओभरलोडका सम्बन्धमा गृह मन्त्रालयसँग आवश्यक छलफल गर्ने बताए। निर्माणाधीन नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रुवाहक सार्वजनिक सवारी चलाउन सहज वातावरण निर्माण गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरे।।
स्तरोन्नति भइरहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार र निर्माणका लागि पहिलो चरणमा यही चैत २७ गते देखि ३१ गतेसम्म दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइने जनाएको थियो।
यसप्रति यातायात व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्।












